यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सुक्खा पहिरोका कारण आज दिउँसोदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं ६ बरलवाको भिरमा भीषण पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
पहिराले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरूपमा अवरुद्ध बनेको छ । यसअघि यही फागुन ११ गते राति खसेको सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो ।
बागलुङको मालढुङ्गाबाट गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकै बेला आज एक्कासी पहाड खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इन्जिनियर छकबहादुर गुरुङले बताए।