|  

धादिङको गजुरी–२ मलेखुबाट साढे ४ किलो चरेससहित दुईजना पक्राउ

२७ फाल्गुन २०८०, आईतवार १६:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट प्रहरीले चार किलो पाँच सय ३५ ग्राम चरेश बरामद गरेको छ ।

गजुरी गाउँपालिका–५ मानेभन्ज्याङबाट मलेखुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२(०३० प ७०२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

प्रहरीले मोटरसाइकल चालक गजुरी गाउँपालिका–४ का ३६ वर्षीय विजय प्रजा र सोही मोटरसाइकलमा सवार ३२ वर्षीय सुरज तामाङलाई नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट प्रहरीले चरेशसहित नगद ३० हजार पनि बरामद गरिएको छ ।

‘शंका भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकललाई पिछा गरेको र मलेखु पुगेपछि नियन्त्रणमा लिएर जाँच गर्दा कालो झोलाभित्र तीन वटा बट्टामा चरेश भेटियो,’ जैसवारले भने । प्रहरीले सो सम्बन्धमा अनुसन्धान चलिरहेको बताएको छ ।

२७ फाल्गुन २०८०, आईतवार १६:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस