|  

अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक हुँदै गएको छः प्रधानमन्त्री दाहाल

३० फाल्गुन २०८०, बुधबार १३:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् ।

विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफू सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकांश सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पारे ।

“चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु दुई खर्ब ९७ अर्ब ७२ करोडले शोधनान्तर बचत छ,” प्रधानमन्त्री दाहालले भने, “विदेशी विनिमय सञ्चिति १९ दशमलव नौ प्रतिशतले वृद्धि भई झन्डै रु १८ खर्ब ४५ अर्ब बराबर पुगेको छ ।”

व्यापार घाटा एक दशमलव आठ प्रतिशतले घटेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फीति पाँच दशमलव एक प्रतिशतमा सीमित गरिएको बताए । उनले कर्जा प्रवाह चार दशमलव सात प्रतिशतले बढेको उल्लेख गरे ।

“विद्यमान आर्थिक अवस्थालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन,” प्रधानमन्त्री दाहालले भने, “पूँजीगत खर्च पनि अपेक्षाअनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनालाई थप द्रुतता दिने, पूँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने छ ।”

उनले प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सृजना गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे ।

 

३० फाल्गुन २०८०, बुधबार १३:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस