यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र पल्टाइदिने चेतावनी दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै राप्रपाका अध्यक्ष लिङ्देनले गणतन्त्रमाथि सधैं फोहोरी खेल भइरहने हो भने यसलाई ढालिदिने चेतावनी दिएका हुन्।
उनले आफूहरूको संख्या सानो भएपनि गणतन्त्रको नाममा लुटतन्त्र मच्याइरहेको बताए। उनले नयाँ सत्ता समीकरणमा आफू सहभागी नहुने स्पष्ट पारे।
उनले संसदमा उभिएर राजा र धर्मका नाममा गाली गर्ने छुट कसैलाई नभएको जिकिर गरे। राप्रपा अध्यक्ष लिङ्देनले नयाँ गठबन्धन स्वार्थहरूको गठबन्धन भएको आरोप लगाए। जतिसुकै सिद्धान्त र दर्शनको लेप लगाए पनि नयाँ सत्ता हेरफेर स्वार्थको जोडघट भएको भन्दै उनले स्वार्थ मिले टास्सिने नमिले छुटिने बताए।
उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने बताए।