यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बाहिरी मुलुकबाट नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालको चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रका रूपमा स्थापित हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आयोगबाट प्रस्तुत प्रतिवेदनमा विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै जानुले चिकित्सा क्षेत्रमा आकर्षण बढ्दै गएको देखिएको बताउनुभयो ।