यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गरेको छ ।
नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानन्त्री तथा गृहमन्त्रीको नाम मुछिएकोबारे संसदीय छानबिन समितिको माग गर्नुभयो ।
“नौतिकताको पनि प्रश्न हो । यस विषयमा सरकार गम्भीर हुन जरुरी छ । यो विषयमा प्रधानमन्त्रीले दिनुभएको जवाफ, प्रहरी प्रमुखले दिनुभएको जवाफले यो विषयमा न्याय निरुपण कसरी हुन्छ भन्ने संशय पैदा भएको छ”, उहाँले भन्नुभयो, “यस विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनोस् ।”
उहाँले संसद् आवश्य भएको विषय प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुझेको भन्दै जनजीविकासँग जोडिएका अनेकौँ विषय सम्बोधन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । “यस बेलामा संसद्को गरिमा कति हुन्छ भन्ने हामीले बुझेका छौँ । तर सरकारले पनि आफ्नो जिम्मेवारी बुझोस्”, उहाँले भन्नुभयो ।
संसदीय छानबिन समिति गठन नभएसम्म प्रमुख प्रतिपक्ष दलले यो विषय उठाइरहने उहाँले बताउनुभयो । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस विषयमा छानबिन भइरहेको भनेर संसद्मै जवाफ दिनुभएकोमा अहिले त्यो विषय रोकिएको सांसद गौतमले बताउनुभयो । गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गरिनु स्वार्थको टकराव ९कन्फ्क्टि अफ इन्ट्रेस्ट० रहेको पनि उहाँको भनाइ छ ।