यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३ दशमलव ३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । बैंकले आज आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धि गएको वर्षको तुलनामा सुधार हुने देखाएको हो ।
गएको आर्थिक वर्ष नेपालको वृद्धि १.९ प्रतिशतमात्रै थियो । विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै आउँदो आर्थिक वर्षमा देशको आर्थिक वृद्धि ४.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
निजी क्षेत्रको लगानी न्यून भए पनि पर्यटन क्षेत्रको पुनरुत्थान र जलविद्युत् निर्यातको बढ्दो गतिले नेपालको वृद्धिलाई सघाउने विश्व बैंकले जनाएको छ । तर भारत, खाडीका देश र मलेसियाजस्ता देशहरूको सुस्त आर्थिक वृद्धिका कारण रेमिट्यान्स र पर्यटन आयमा गिरावट आउन सक्ने जोखिम पनि रहेको विश्व बैंकको निष्कर्ष छ । बैंकले व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न आवश्यक रहेको उल्लेख गरेको छ ।