|  

वीरगन्जलाई आर्थिक नगरी घोषणा गर्न सरकार सकारात्मक छ : अर्थमन्त्री पुन

२५ चैत्र २०८०, आईतवार १२:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्नुपर्ने व्यवसायीको मागमा सरकार सकारात्मक रहेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । वीरगञ्ज उद्योग बाणिज्य संघको विर्तास्थित कार्यालयमा आज आइतबार राजश्व परामर्श तथा बजेट तयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले वीरगञ्जलाई आर्थिक नगरी घोषणाको मागमा आफ्नो समर्थन रहेको बताए ।

मधेस प्रदेश सरकारसँगको समन्वयमा वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्न संघीय सरकार सकारात्मक रहेको उनको भनाइ थियो । ‘लोकतन्त्रमा सरकारले नागरिकका आवाज सुन्नैपर्छ’ मन्त्री पुनले भने, ‘वीरगञ्ज आर्थिक केन्द्र नै हो । औद्योगिक नगरी नै हो ।’

देश विकासका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा प्रधानमन्त्री र आफू स्पष्ट रहेको भन्दै मन्त्री पुनले निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको समेत बताए ।

निजी क्षेत्रका जायज गुनासोको सम्बोधन बजेटमार्फत गरिने उनले उल्लेख गरे । निराशाको अन्त्य गरी निजी क्षेत्रको मनोबल उच्च बनाउन सरकारले प्रयास गरिरहेकाले विश्वास गरिदिन उनको भनाइ थियो । सरकारले व्यवसायीलाई काखापाखा नगर्ने र नतर्साउने तथा अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि मन्त्री पुनले व्यक्त गरे ।

 

२५ चैत्र २०८०, आईतवार १२:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस