यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
चैत्र २८, काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलगायत अन्य प्रतिपक्ष दलहरू राप्रपा र लोसपासहितको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बसेको बैठकमा आकस्मिक समयमा दलीय प्रतिनिधिका आधारमा सांसदहरूको बोल्ने क्रम सकिएपछि सदन नियमित कार्यसूचीमा प्रवेश गर्ना साथ प्रतिपक्षका सांसदहरू उठेर विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले निरन्तर सांसदहरूलाई बस्न र सभा चलाउन सहयोग गर्न आग्रह गरेका थि ए। यद्यपि, प्रतिपक्षका सांसदहरू नबसेपछि सभामुख घिमिरेले आगामी ०८१ वैशाख २ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राख्दै अवरोध गर्दै आएको छ । यता, सरकार पक्षले भने कुनै हालतमा रविमाथि छानविन समिति बनाउन नसकिने अडान राख्दै आएको छ ।