यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सबै पक्षलाई राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विश्व प्रेस स्वतन्त्रता दिवस मे ३० का अवसरमा विज्ञप्ति जारी गर्दै एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटनाप्रति चिन्ता व्यक्त गर्दै सुरक्षाकर्मी तथा जिम्मेवार निकायबाट हुने दुर्व्यवहार र हतोत्साहित गर्ने कार्य कानुनी शासन, लोकतन्त्र र मानव अधिकारका मूल्य मान्यताविपरीत रहेको उल्लेख छ ।
‘नेपालमा गत वर्षभन्दा यस वर्ष बढी सञ्चारकर्मीहरू पीडित हुन पुगेको अवस्थाप्रति आयोग चिन्ता व्यक्त गर्दछ’, आयोगले भनेको छ,‘नेपाल पत्रकार महासङ्घका अनुसार पछिल्लो एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना भएका छन् । ’
साथै सञ्चारकर्मीहरूप्रति असहिष्णु व्यवहार हुने गरेको, सञ्चारकर्मीहरूको कार्यप्रति प्रश्न खडा गरिएको, समाचार सङ्कलनका लागि स्थलगत रूपमा खटिँदा सञ्चारकर्मीलाई हतोत्साहित गरिएको तथा सामाजिक सञ्जालमा लेखेको आधारमा विभेदपूर्ण रूपमा साइबर अपराधमा मुद्दा चलाउने गरिएको जस्ता सूचनाहरू आयोगमा प्राप्त भएको पनि जनाएको छ ।