|  

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री दाहाल

३० बैशाख २०८१, आईतवार १२:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताएका हुन् ।

ुनर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होममा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ, प्रधानमन्त्री दाहालले भने,उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ ।

पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा बिस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालसम्म नेपालमा अनमीदेखि विद्यावारिधिसम्म पढ्ने नर्सहरूको आकर्षण बढ्दो क्रममा रहेको बताए । नर्सिङ क्षेत्रमा देखिएको आकर्षणले यस क्षेत्रमा राम्रो सम्भावना र भविष्य छ भन्ने देखाएको छ, प्रधानमन्त्री दाहालले भने, यस क्षेत्रको उचित व्यवस्थापन र युगानुकूल विकासका निम्ति वैज्ञानिक नीति, योजना र कार्यक्रम तर्जुमा गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।

नेपालका अस्पतालमा नर्स बिरामीको अनुपातअनुसार दरबन्दी कायम नभएकाले नर्सहरूको कार्यभार बढिरहेको विषयबारे सरकार जानकार रहेको बताउँदै प्रधानमन्त्रीले अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकहरूमा सकारात्मक परिवर्तन आइरहेकाले निकट भविष्यमा नर्सहरूको सेवासुविधा र दरबन्दीको विषयलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

३० बैशाख २०८१, आईतवार १२:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस