यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
जेठ ३०, काठमाडौँ । धादिङ गजुरीमा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार धादिङमा आज सामान्य वर्षाको सम्भावना क्षीण छ । यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ । अहिले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी इलाकामा मौसम सफा छ । कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको विभागले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक मौसम सफा रहने पूर्वानुमान गरेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।