काठमाडौँ । बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार भोलि(बिहीबार) बाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ।
कम्पनीले व्यावसायिक सुरूवात गरेको अवसरमा सीमित समयका लागि ६० प्रतिशत छुटको अफर समेत सार्वजनिक गरेको छ।
वैशाख १ गतेबाट आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार बिहीबारदेखि व्यावसायिक रूपमा सञ्चालन ल्याइने कम्पनीले जनाएको छ।
कम्पनीलाई ‘कमर्सियल अप्रेसन टियुभी प्रमाणपत्र’ प्राप्त भएसँगै अब केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।
टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड ईन्डियाले परियोजनाको सुपरीवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको हो।
करिब एक वर्ष अघि नै केबलकारको सम्पूर्ण मेकानिकल सामग्रीहरूको जडान गरी लोड परीक्षण भइरहेको थियो।
‘कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्रथामिकता दिएकाले सम्पूर्ण तयारी पूरा गरी पूर्ण सुरक्षित वातावरण बने पछि मात्र सर्वसाधरणका लागि केबलकार सञ्चालन गर्न लागेका हौं,’ उनले भने, ‘केबलकारमा सवार गरी बन्दीपुरको प्रसिद्ध खड्गदेवि मन्दिर दर्शन गर्न सकिनेछ। उक्त मन्दिर सर्वसाधरणका लागि पनि खुला गर्ने तयारी भइरहेको छ।’
उनका अनुसार यसअघि वर्षको एक दिन महाअष्टमीको दिन मात्र सर्वसाधरणका लागि खुला हुने उक्त मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने कम्पनीले जनाएको छ।
केबलकारबाट ९० डिग्रीको उकालो जस्तो देखिने चट्टान अरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने उनले बताए।
केबलकार चोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गर्न सकिनेछ।
यसअघि नै केबलकारको बटम स्टेशनमा अत्याधुनिक सुविधा सहितको रेष्टुरेन्ट ‘ड्राइभ इन’ सञ्चालनमा आइसकेको छ।
विदेशी तथा स्वदेशी पर्यटकहरूलाई अन्तराष्ट्रिय स्तरको (पाँच तारे)सरहको सुविधा प्रदान गर्ने उद्देश्यले वैशाख १ गते देखि रेष्टुरेन्ट ‘ड्राइभ इन’ सञ्चालनमा आएको हो।
त्यस्तै बटम स्टेशनमा जंगली म्युजियम, चिल्डेन जोन, ३३ कोटी देविदेवताका मूर्ति सहितको आकर्षक पार्क सञ्चालनमा आएको छ। पार्कमा जिप लाइन, स्काइ साइक्लिङ लगायतका साहसिक खेलको पनि अनुभव लिन पाइनेछ।
बन्दीपुर हिलको कुल लागत ६ सय २९ करोडमध्ये हालसम्म ४ सय ३३ करोडको काम सम्पन्न भएको अध्यक्ष शर्माले जानकारी दिए।
समग्र बन्दीपुर हिल गुरूयोजना अनुसारका सबै संरचना आगामी २ वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ।
निर्माणाधीन १७ तले ‘क्वीन टावर’ नामको पाँच तारे होटल आगामी ५ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
त्यस्तै २ वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दाबी गरीएको दुई सय ९३ मिटर अग्लो बन्जी जम्प, सेभेन आकारको २८ सय मिटर लामो जिप लाइन, बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकार लगायतका संरचना सम्पन्न हुने कम्पनीले जनाएको छ।
केबलकारको ३१ गोण्डलामध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेका छन्। प्रति घण्टा ५ सय जना यात्री बोक्न सक्ने क्षमता रहेको यस केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्नेछ।
केबलकारले साँझ ५ बजेदेखि राति ११ बजेसम्म ६ वटा रेस्ट्रो क्याबिन रेस्टुरेन्ट आराम कक्ष समेत सञ्चालन गरेर नयाँ स्वाद पस्कने तयारी समेत छ।
तर केबलकारको यो सेवा लिन भने एक वर्षसम्मको समय लाग्नेछ।