गजुरी । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले समृद्ध, समाबेशी र सुखि बेनिघाट रोराङको आधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग सुशासन र पुर्वाधार भन्ने दीर्घकालीन भिजन तय गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष बिवेक थपलियाद्वारा आज घोषणा गरिएको आर्थिक वर्ष २०८१, ८२ को नीति तथा कार्यक्रमले बिशेष गरी युवालाई कृषिमा आकर्षण गराउन युवा स्वरोजगार र युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । अध्यक्ष बिवेक थपलियाले सबै वडामा तालिममार्फत रोजगारी सिर्जना गर्न युवा रोजगार कार्यक्रम देखि क्षमता अनुसार स्वरोजगार बनाउने, पदमार्ग, पर्यटकीय क्षेत्रको विकास, शिक्षाका गुणस्तर सुधार एवं सामाजिक सुरक्षाको क्षेत्रमा यसअघि संचालित कार्यक्रमहरुलाई पालिकाले निरन्तरता दिने बताउनुभयो ।
गाउँपालिकाले गाउँहरु खाली भएको र कृषिमा परनिर्भरता बढ्दै गएको बेला गाउँपालिकाले घरघरमै करेसाबारी अभियान देखि आत्मनिर्भरता तर्फ अगाडी बढाउँदै कृषिमा बिषेश अनुदान र सहयोग गर्ने जनाएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा खेत बारीमा कृषि प्राबिधिक सेवा उत्पादनमा टेवाको अवधारणा ल्याएको छ ।
पर्यटकीय क्षेत्र समेटिएको पालिकाले पर्यटकीय होटल र रेष्टुरेण्टमा हुने अनुगमनलाई तिब्र बनाउँदै स्वच्छता तथा गुणस्तरमा ख्याल गरिने बताउनुभयो ।
यसैगरी प्रसिद्ध पर्यटकीय गाउँमा फोटो सुट केन्द्र स्थापना गर्ने र सो गाउँलाई सांस्कृतिक गाउँको रूपमा घोषणा गर्नका लागि आवश्यक पूर्वाधार संरचनाहरु निर्माण गरी परम्परागत सांस्कृतिक गाउँ बनाउने पालिकाको घोषणा छ । गाउँपालिकामा सङ्घीय सरकारबाट सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई प्रभावकारी तुल्याउँदै त्यस क्षेत्रमा कृषिको विशेष पकेट क्षेत्र स्थापना गर्ने नीति अङ्गिकार गरिने गाउँपालिकाले जनाएको छ ।
घर पालुवा जनावर कुकुरहरू तथा बारिका कुकुरहरुलाई रेबिज बिरुद्धको खोप लगाईने तथा आबश्यक बन्ध्याकरण गरिने निती तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिका भित्रका जलविद्युत उत्पादनको सम्भावनालाई उजागर गर्दै साना तथा ठूला जलविद्युत आयोजना सञ्चालन गर्न प्रात्साहन गरिनेछ ।
मानव विकासका लागि प्राविधिक सिप सहितको गुणस्तरीय शिक्षा सार्थक बनाउका लागि शिक्षा क्षेत्रमा लगानी वृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नेपाल सरकारको सुशासन सम्बन्धी “म भ्रष्टचार गर्दिन, म भ्रष्टचार हुन दिन्न र जनताका लागि इमान्दार भएर काम गर्नेछु” भन्ने प्रतिज्ञा सहितको कार्यसंस्कृतिको प्रवद्र्धन गर्दै गाउँपालिकाबाट हुने सबै सेवा छिटो, छरितो र भ्रष्टचार रहित तुल्याउँदै भ्रष्टचारमा शुन्य सहनशिलता कायम गरिने जनाइएको छ ।