|  

मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

२ श्रावण २०८१, बुधबार १०:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन २, बागमती । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गरेका छन् ।

सत्ता साझेदार दलका नेताहरूसँगको छलफलपश्चात मुख्यमन्त्री जम्कट्टेल साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुगेको बागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।

सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट सहभागी पाँच जना मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ ।

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएपछि त्यसको प्रक्रियाका लागि यही साउन ६ गते दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गर्ने तयारी गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । गत २०७९ पुसमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको समर्थनमा माओवादी केन्द्रका नेता जम्कट्टेल मुख्यमन्त्री बनेका थिए ।

 

२ श्रावण २०८१, बुधबार १०:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस