|  

नागढुङ्गा–नौबिसे सडक खण्ड खुल्यो, ६ घण्टादेखि जाममा बस्दा यात्रुहरुमा सास्ती

५ भाद्र २०८१, बुधबार १७:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र ५, काठमाण्डौँ । काठमाण्डौको चन्द्रागिरि नगरपालिका–२ को नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी गाडी आवागमन खुलाइएको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार अहिले बेलुकी ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाण्डौ आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका गाडीलाई भित्र्याउन शुरू भएको छ । गाडीको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने प्रहरीद्ये जनाएको छ ।

पानी परिरहँदा पहिरो पन्छाउने र खस्ने क्रम चलिरहेकाले आज बिहान साढे १० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो । जसका कारण नागढुङ्गा–नौबिसे खण्ड प्रभावित भएको थियो ।

प्रहरी वृत्त थानकोटका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको बताउनुभयो । तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।

नागढुङ्गा चोकबाट केही सय मिटर पर नाग मन्दिर नजिकै पहिरो खसेको हो । नागढुङ्गा प्रहरीले काठमाण्डौबाट जाने गाडी नागढुङ्गामै रोकेर फर्काइरहेको छ भने आउने गाडी ‘पिप्लामोड’ भन्दा तल नै रोकिएका छन् । काठमाण्डौ छिर्ने मुख्य नाका नै बन्द हुँदा यात्रुहरू प्रभावित भएका छन् ।

५ भाद्र २०८१, बुधबार १७:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस