यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
भाद्र ८, कञ्चनपुर । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ ।
भाद्र शुक्ल पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ ।
आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको सुरुवात गर्ने चलन छ । यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न मास कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ ।
पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने गर्दछ । एक महिना अघिदेखि नै शुद्ध साकाहार र बह्मचार्यको पालना गरी बिरुडा पञ्चमीका दिन महिलाहरुले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ । बिरुडा भिजाउने बेला महिलाले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिजााउने बेलाको फाग गाउने चलन छ ।