|  

सबै पर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् : सभापति देउवा

१० भाद्र २०८१, सोमबार ०७:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र १०, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्व हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गरेका छन् ।

श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँधी धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्दै सत्कर्म र मानव कल्याणमा लाग्न प्रेरित गर्दै आएको बताए ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विविधतायुक्त विशेषताले भरिपूर्ण सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाड–पर्व छन्, तिनले नेपालीलाई एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्”, सन्देशमा भनिएको छ ।

सभापति देउवाले भगवान श्रीकृष्ण जन्मिएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी र विशेष गरी सुदूरपश्चिममा मनाइने गौरा पर्वको अवसरमा समस्त नेपालीमा आफ्नो पार्टी र व्यक्तितर्फबाट सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

१० भाद्र २०८१, सोमबार ०७:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस