|  

गोकुल बाँस्कोटाको छानबिन सरकारले गर्छ – गृहमन्त्री थापा

११ फाल्गुन २०७६, आईतवार ११:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


हेटौंडा फाल्गुन ११। गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुने बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार राजीनामा दिएका बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्ने गृहमन्त्री थापाले बताउनु भयो ।

गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय द्वारा संयुक्त रुपमा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सम्बोधन गर्न हेटौंडा आउनुभएका थापाले सञ्‍चारकर्मीहरुसँग कुरा गर्दै भने, बाँस्कोटाजिले नैतिकताका आधारमा राजीनामा दिनुभएको छ, यो विषयमा सरकारले आवश्यक छानबिन गर्नेछ । उहाँको विरुद्ध सरकारका विभिन्न निकायले आवश्यक अनुसन्धान गर्नेछ । बाँस्कोटाविरुद्ध सरकारका निकायले मात्रै छानबिन गर्ने बताएका छन् ।

उनले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी को बहस पनि उपयुक्त ढंगले टुंगो लगाउने दाबी गरे । एमसीसीको विषयमा सत्तारुढ दलले गठन गरेको कार्यदलको प्रतिवेदन अध्ययन भइरहेको भन्दै उनले प्रतिवेदनको आधारमा सदनबाट अनुमोदन हुने बताए । एमसीसी पारित भएपछि नेपालको विद्युत् र सडक पूर्वाधारमा ठूलो लगानी भित्रिने उनको भनाइ थियो । नेपाल(भारतबीचको सीमा विवाद कूटनीतिक ढंगबाट टुंगो लाग्‍ने मन्‍त्री थापाले बताए । ‘परराष्ट्र मन्त्रालयले यो विषयमा आवश्यक पहल गरिरहेको छ,’ उनले भने, ‘सरकारले छिट्टै दुई देशबीच यो विषयमा कूटनीतिक तवरमा वार्ता हुनेछ ।’ 

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा भएको सुरक्षा गोष्ठीमा नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, नेपाली सेना द्वन्द्व ब्यबस्थापन प्रमुख, वाग्मती प्रदेश अन्तर्गत १३ जिल्लाका प्रमुख, जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरीलगायत सहभागी छन् ।

११ फाल्गुन २०७६, आईतवार ११:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस