|  

बागमती प्रदेशले थप्यो चार शाखा कार्यालय

१५ भाद्र २०७८, मंगलवार १०:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


हेटौंडा । बागमती प्रदेश सरकारले नागरिकलाई सहज र सरलरूपमा सेवा प्रवाह गर्ने उद्देश्य राखेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत नयाँ कार्यालय खडा गर्ने निर्णय गरेको छ ।

वन मन्त्रालयअन्तर्गतको प्रदेशमा बाढीपहिरो नियन्त्रणका लागि तीन वटा भूसंरक्षण कार्यालय र पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पर्यटन विकास आयोजनाअन्तर्गत एउटा उपशाखा गरी चार वटा कार्यालय थप गर्ने निर्णय भएको हो ।

बाढीपहिरो नियन्त्रणका लागि प्रदेश सरकारले मकवानपुर, रामेछाप र नुवाकोटमा तीन वटा भूसंरक्षण कार्यालय स्थापना गर्न लागेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए ।

प्रदेश सरकारले काठमाडौंमा पर्यटन विकास आयोजना कार्यालयको उपशाखा स्थापना गर्ने निर्णय गरेको सूचना अधिकारी पुडासैनीले बताए ।

यसअघि यस प्रदेशमा ललितपुरमा एउटा तथा सिन्धुपाल्चोक जिल्लामा एउटा गरी दुई भूसंरक्षण कार्यालय स्थापना गरिएको थियो । बाढीपहिरो नियन्त्रणका लागि उक्त कार्यालयबाट सम्भव नभएकाले थप कार्यालय स्थापना गर्ने निर्णय भएको हो ।

यस प्रदेशको १३ वटै जिल्लाबाट पर्यटन विकाससम्बन्धी सेवा र योजनाको सम्झौताका लागि हेटौंडा आउनुपर्ने बाध्यता हटाउन काठमाडौंमा उपशाखा स्थापना गर्ने भएको छ ।

उपशाखाबाट स–साना योजना, उपभोक्ता समूहबाट हुने योजनाको सेवा प्रवाह हुने बताइएको छ तर ठूला ठेक्का र योजनाको काम आयोजनाको हेटौंडाबाट हुनेछ ।

१५ भाद्र २०७८, मंगलवार १०:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस