|  

जग्गा दिलाई दिने भन्दै १ हजारको रसिद थमाउँदै एमालेको सुकुम्बासी संगठन

२४ चैत्र २०७८, बिहीबार २०:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


विराटनगर । विराटनगरमा एमाले निकटको सुकुमबासी संगठन नेपाल भूमिहिन सुकुमबासी संगठनको नाममा २ वर्षदेखि सुकुमबासीको घरघरमा चन्दा संकलन अभियान नै चलेको फेला परेको छ । बुधबार विराटनगर ८ को वडा कार्यालयमा सर्वदलीय बैठक भयो । बैठकमा सुकुमबासीलाई भूमि आयोगबाट जग्गा सरकारले वितरण गर्ने भनेपछि फारम भरेर भूमि आयोगमा बुझाउने कुरा भयो । वडा कार्यालयले पनि सबै सुकुमबासीलाई खबर गर्यो । ‘त्यसपछि थाहा भयो कि नेपाल भूमिहिन सुकुमबासी संगठनका विराटनगर संयोजक बुद्धिमान लिम्बूले त्यसअगाडि नै सुकुमबासीको घरघरमा पुगेर पैसा लिँदै कार्ड दिँदै गरेका रहेछन्,’ स्थानीय मो।जहाँगिर सद्दाम हुसेनले बताए । विराटनगर ८ का वडाध्यक्ष निश्चल अर्यालले आफ्नो कार्यालयमा १ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म सुकुमबासीबाट पैसा लिएर जग्गा दिने प्रलोभन दिएको रिपोर्ट आएको बताए । वडा सचिव मनोज मल्लिकले जग्गा दिन्छु भन्दै कार्ड वितरण गरेको पाइएको बताए । ‘वडाका मानिसले हाम्रो जग्गा हुँदाहुँदै पनि जग्गा पाइन्छ भनेर कार्ड दिएको पाइएको छ,’ उनले भने, ‘यहाँ २ सय बढी मानिसहरु वडा कार्यालय घेर्न आएका थिए । जग्गा धनिलाई पनि जग्गा दिन्छु भन्दै ५ सय रुपैयाँ लिएको पाइएको छ ।’ सुकुमबासी संगठनका विराटनगर अध्यक्ष बुद्धिमान लिम्बूले पनि आफूले झण्डै १ हजार वटा रसिद वितरण गरिसेकको बताए । त्यसबाट लगभग ५ लाख रुपैयाँ रकम संकलन भएको स्वीकार पनि गरे । ‘जिल्लाका नेताहरुले भनेर सहयोग रकम उठाएको हुँ, उठेको पैसाबाट अधिवेशन गर्ने, संगठनको मिटिङ बैठक गर्न खर्च हुन्छ,’ उनले भने, ‘सुकुमबासीलाई १ सय रुपैयाँचन्दा लिने संगठनकै निर्णय हो, ८ सयसम्म चन्दा लिएका छौं ।’ छलफलका लागि वडा कार्यालय बोलाएपछि पुगेका लिम्बूले आफूले सुकुमबासीबाट चन्दा लिएर गल्ती गरेको भन्दै क्षमायाचना गरे । ‘मलाई पनि जिल्लाको नेताहरुले सहयोग रकम उठाउनु भनेर निर्देशन दिएपछि उठाएको हुँ, पहिलेदेखि हामीले बाँड्दै बाँड्दै गर्दा हामीले १ हजार भन्दा बढी बाँडियो होला,’ उनले भने, ‘विराटनगरको वडा नम्बर १४, १२ र ८ नम्बरका सुकुमबासीलाई रसिद बाँडेको हो ।’ उक्त वडामा सुकुमबासी आयोगले आव्हान गरेअनुसार १ सय ८० जनाको हाराहारीमा सुकुबासीले फारम भरेको वडाअध्यक्ष अर्यालयको भनाइ छ । उनले सुकुमबासीलाई सरकारी सेवा सुविधा दिँदा पनि कुनै शुःल्क नलिनु भन्ने रहेको बताए । ‘सुकुमबासीलाई सेवा दिँदा सरकारी कार्यालयले कुनै शुल्क लिँदैन, तर यहाँ सुकुमबासीकै संगठनको नाममा घरलौरी चन्दा उठाउनु गैरकानूनी हो,’ अर्यालले भने, ‘हामीले चन्दा उठाउने लिम्बूलाई सचेत गराएका छौं र उठाएको सबै पैसा फिर्ता दिन आग्रह गरेका छौं ।’ विराटनगर ८ का किन्नु मुखिया दृष्टिबिहीन छन् । उनको जग्गाजमिन छैन । उनकी श्रीमती तेतरी मुखिया हुनेखानेहरुको घरघरमा पुगेर भाँडा सफा गर्ने काम गर्छिन् । केही दिन अगाडि उनको टोलमा सुकुमबासीलाई जग्गा दिने भन्दै भेला भयो । त्यही भेलामा जग्गा पाउने हो भने ५ सय रुपैयाँ दिनुपर्ने भन्ने उर्दि आयो । उनले बेलुका चामल किनेर छोराछोरीलाई खाना खुवाउने योजनालाई स्थगित गर्दै ५ सय रुपैयाँ झिकेर दिइन् । तर, उनले जग्गा होइन पैसा दिएको एउटा सानो ‘सहयोग रसिद’ पाइन् । उनले मात्रै होइन विराटनगर ८ को हाटखोला जेल पछाडिको सुकुमबासी टोल वस्ती र अशोक चोकदेखि पूर्व पट्टि सुकुमबासी टोल बस्तीका धेरै सुकुमबासीले यस्तै सहयोग रसिद बोकेर जग्गा पाउने आशामा बसेका छन् । ‘जमिन दिन्छ रे भनेपछि ५ सय रुपैयाँ दिएँ,’ तेतरी मुखियाले भनिन्, ‘म अर्काको घरको भाँडाबर्तन माझ्छु, मेरा श्रीमान् आँखा देख्नुहुन्न ।’ सोही ठाउँकी कल्धरु राजवंशीले भनिन्, ‘सबैलाई जग्गा दिने भनिरहेको छ आउनु न भनेर मेरो बुहारीले बोलाइन । मसँग नागरिकताको फोटोकपि र ५ सय रुपैयाँ माग्यो । मैले दिएँ, उनीहरुले रसिद दिएर गए ।’ सोही ठाउँकी बिमला सहनीले थपिन्, ‘मेरो गाउँमा थुप्रै जनाले पैसा दिएका छन्, ५÷५ सय रुपैयाँ पैसा लिएको छ ।’ यी प्रतिनिधि पात्र हुन् । समाचार दैनिकबाट ।

२४ चैत्र २०७८, बिहीबार २०:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस