आजबाट हिन्दूहरूको महान् चाड दसैँ सुरु भएको छ । नवदुर्गाको पूजा आराधना गर्ने, राम्रो लगाउने, मिठो खाने र मान्यजनका हातबाट टीका आशीर्वाद ग्रहण गर्ने चाडका रूपमा दसैँलाई लिइन्छ ।
नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गरिने भएकाले यस अवधिलाई त्रनवरा पनि भनिन्छ । घटस्थापनादेखि नवरात्र आरम्भ हुन्छ । दशौँ दिनमा देवी विसर्जन गरेपछि आफूभन्दा ठूलाको हातबाट टीका, जमरा ग्रहण गरिन्छ । अनादिकालदेखि नै विजया दशमीलाई नेपालका सबै समुदायले मनाउँदै आएका छन् ।
नवरात्रको महत्व
वर्षमा चारवटा नवरात्र छन् । पुसमा, चैतमा, असारमा पनि नवरात्र पर्छ । तर, शारदीय दुर्गा पूजा बडादसैँ हो । यतिवेला उपासना गर्नाले देवी विशेष खुसी हुन्छिन् भन्ने विश्वास छ । प्रतिपदा (घटस्थापना)देखि नवमीसम्मको नवरात्रको उपासना बुझ्नलाई हामीले यसको महत्वबारे बुझ्नुपर्छ ।
रात्र भनेको अन्धकार हो । अन्धकार भनेको मोह, तमस, कामवासना वा आशक्ति हो । हाम्रो शरीरका नौवटा इन्द्रियले ग्रहण गर्ने आशक्ति हटाउन र इन्द्रियहरूलाई थप सशक्त बनाउन नवदुर्गाको उपासना गरिन्छ ।
जस्तो– आँखाले त पाप चिताएको हुन सक्छ, मनमा कुविचार पलाएको हुन सक्छ, अन्याय–अत्याचारको कुरा आउला । नौ दिनसम्म लगातार उपासना गरेर यस्ता मोह र आशक्तिमाथि विजय हासिल गरेपछि ती छिद्रहरू थप सबल बन्छन् र सफा हुन्छन्, त्यसैको खुसीमा दशमीको दिन उत्सव मनाउने भनिएको छ ।
परम्परा र देशाचारअनुसार उपासना गर्नुपर्छ भन्ने मलाई लाग्छ । मुख्यतः भगवतीले खोज्ने भनेको श्रद्धा र भक्ति नै हो । पूजाकोठा हुनुपर्यो, पूजाआजा हुनुपर्यो, भगवतीको स्वरूप हुनुपर्यो । सबै किसिमका पूजामा फूलपाती, चन्दन, नैवेद्य, धुप जति पनि छन्, चढाउनुपर्यो ।
सकेसम्म चण्डी पाठ गर्ने वा गराउने चलन पनि छ । सम्भव छ भने पुरोहित राख्न पनि सकिन्छ । त्यो सकिएन भने पनि भगवतीको नामको जप गर्न सकिन्छ । किनकि, चारवटा नवरात्रमध्ये शरद ऋतुको यो नवरात्रको महत्व विशेष छ । यसबाट गरेको पूजाबाट म (भगवती) चाँडै खुसी हुन्छु भनेर त चण्डीमै लेखिएको छ ।
कसैले पनि कुनै दीक्षाको मन्त्र लिनुभएको छ भने त्यो जप्नुस् । नत्र एउटै नाम लिए पनि हुन्छ । जस्तो– ‘दुर्गाय नम’, ‘जयकाली जयकाली’ वा ‘जय गोरखकाली’ भने पनि भयो । भगवान्लाई उपचार सामग्री वा भेटी होइन, श्रद्धा र भक्ति चाहिने हो । श्रद्धारूपी फूल चढाऊ भन्नुहुन्छ, त्यति चढाएपछि खुसी हुनुहुन्छ ।
जमरा कहाँ राख्ने ?
घटस्थापनाको दिन पहिले दीप, कलश, गणेशको पूजा गरिन्छ । त्यसपछि जमरा राखिन्छ । घाम नदेखिने ठाउँमा जमरा राख्नुपर्छ । यसको पूजा गर्दा पूर्व तथा उत्तरतर्फ फर्केर गर्नुपर्छ । घरको ईशान कोण अथवा पूर्व फर्केर वा उत्तर फर्केर पूजा गर्दा राम्रो मानिन्छ ।
जमराको रूपमा जौ, गहुँ, मकैलगायत विभिन्न १० प्रकारका अनाज रोपिन्छ । आफूले खाने अन्नलाई प्रसादको रूपमा जमरा बनाउने हो । यसपछि नौ दिनसम्म देवीको आराधना गर्ने, पूजा गर्ने गरिन्छ । दीप, कलश, गणेश तथा नौवटा घडाको स्थापना गर्नुपर्छ ।
नवरात्रमा उपासना किन गरिन्छ ?
सुरेशचन्द्र रिजाल, ज्योतिष तथा वास्तुविद्
नवरात्रमा कुन कामना पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ । सावधानीपूर्वक विधिअनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने उल्लेख छ ।
नौ दिनसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।
पहिलो दिन : यदि लामो आयु र कुनै प्रकारको दीर्घरोगबाट बच्नका लागि पहिलो दिन शैलपुत्रीको पूजा आराधना र गाईको घ्यूबाट बनाइएका परिकार चढाएमा आरोग्य प्राप्त हुन्छ ।
दोस्रो दिन : कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि ब्रह्मचारिणी मातालाई सख्खर चढाई पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने बताइएको छ ।
तेस्रो दिन : दुःख, कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारको प्रसाद चढाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशीर्वाद हामीमाथि सधैँभरि रहन्छ भन्ने कुरा बताइएको छ ।
चौथो दिन : चतुर्थी तिथिका दिन माता कुष्माण्डको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्रदान हुनुका साथै कुनै पनि प्रकारका वाणीमा दोष छ भने उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपुवा दान गरेमा शुभ हुने कुरा उल्लेख गरिएको छ ।
पाँचौँ दिन : पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरेमा व्यापार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने कुरा बताइएको छ । यस दिनमा केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ ।
छैटौँ दिन : सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि कात्यायनी माताको पूजा आराधना गरेमा सफल हुने कुरा बताइएको छ । यदि घरमा कुनै अविवाहित व्यक्ति हुनुहुन्छ भने विवाहमा वाधा अवरोध परेको छ भने मह चढाएर माता कात्यायनीको पूजा आराधना गरेमा कार्यसिद्धि हुने कुरा पनि बताइएको छ ।
सातौँ दिन : कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकाराका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नाश हुने कुरा बताइएको छ । कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाका लागि सख्खर दान गरेमा बाधा अड्चन नआउने शास्त्रमा बताइएको छ ।
आठौँ दिन : महागौरी भगवतीको घटस्थापनाको आठौँ दिन पूजा तथा आराधना गर्नुपर्ने कुरा बताइएको छ । उक्त दिन महागौरीको पूजा आराधना गरेमा सन्तानसुख मिल्ने कुरा पनि शास्त्रमा उल्लेख गरिएको छ । महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने कुरा पनि बताइएको छ ।
नवौँ दिन : घटस्थापनाको नवौँ दिन अर्थात् नवमी तिथिका दिन घ्यू चढाएर पूजा आराधना गरेमा अकाल मृत्युबाट बच्नका लागि र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपरोस् भन्नका लागि सिद्धिदात्री भगवतीको पूजा आराधना गर्ने कुरा शास्त्रमा बताइएको छ । दशौँ दिनमा देवी विसर्जन गरी विजयोत्सवका रूपमा टीका र जमरा लगाइन्छ ।
विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा
नवरात्र भनेर समेत चिनिने दसैँ नौ रात र दश दिनको हुन्छ । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ ।
कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर २ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ ।
विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ ।
यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा विसर्जन गरिन्छ । नयाँ पत्रिकाबाट ।