|  

दशैँमा ट्रेकिङ जाँदै हुनुहुन्छ ? यसरी गर्नुहोस् तयारी

२९ आश्विन २०८०, सोमबार ०८:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ – पछिल्लो समय ट्रेकिङ (पदयात्रा) मा युवाहरूको रूचि बढ्दै गएको छ। व्यस्त दैनिकीबाट पर, स्वच्छ हावा खाँदै जंगल, उकाली र ओराली छिचोल्दै हिमाल-पहाडको सुन्दरता नजिकबाट नियाल्न जानेहरूको जमात बढेको छ। दसैं सुरू भइसकेकाले बिदा हुने र भ्रमणको उपयुक्त मौसम पनि भएकाले यही छेको पारेर ट्रेकिङ जानेहरू थुप्रै हुन्छन्।

तर धेरैलाई ट्रेकिङ जाँदा कस्तो तयारी गर्नुपर्छ भन्नेबारे जानकारी हुँदैन। अझ पहिलोपटक जानेलाई त अलमल नै हुन्छ। लैजाने लुगाफाटा र सरसामान मात्र होइन, स्वास्थ्य र छालाको पनि हामीले ख्याल राख्नुपर्ने हुन्छ।

त्यसैले ट्रेकिङ जाँदा के के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे हामीले तपाईंहरूलाई डोल्पो गियरका सञ्चालक दीपक आचार्य र छालारोग विशेषज्ञ डाक्टर सविना भट्टराईको सहयोगमा यो लेख तयार पारेका छौं।

ट्रेकिङका लागि खासमा वर्षको दुई सिजन गरेर पाँच महिना उपयुक्त हुन्छन्। मार्च, अप्रिल, मे र अक्टोबर, नोभेम्बर।

esewaLaxmi bank
सबैभन्दा पहिले गन्तव्य र भौगोलिक अवस्थाबारे बुझ्नुपर्छ। यसपछि ठाउँ अनुसारको लुगा तयार गर्नुपर्छ। धेरैले यसबारे नबुझी हतारिएर लुगा लगाउँछन्। त्यसरी नै झोलामा प्याकिङ गर्छन्। यसो गर्दा हिँड्न गाह्रो हुन्छ भने झोला पनि भारी हुन्छ।

ट्रेकिङ जानुअघि सकेसम्म फुर्सद मिलाएर आवश्यक सामग्री प्याक गर्नुपर्छ। यसका लागि सामानको सूची नै बनाउँदा राम्रो हुन्छ ताकि कुनै पनि सामान नछुटोस् र नदोहोरिओस्।

झोला बोकेर हिँडिरहनुपर्ने भएकाले आवश्यक सामान मात्र बोक्नुपर्छ। झोला हलुका हुँदा हिँड्न थप सहज हुन्छ।

आफूले लगाउने लुगा पनि तह मिलाएर लगाउनुपर्छ। उकालो र ओरालो हिँड्ने हुँदा पसिना सोस्ने लुगा लगाउनुपर्छ। अहिलेको याममा ट्रेकिङ जाँदा सबभन्दाभित्र शरीरमा टाँसिने र हावा नछिर्ने थर्मल सेट लगाउनुपर्छ। हिँड्न सजिलो हुने ट्रेकिङ ट्राउजर र स्पोर्ट्स टिसर्ट लगाउनुपर्छ।

धेरै उचाइमा पुग्ने हो भने एउटा डाउन र अर्को हावा नछिर्ने अलि बाक्लो खालको ज्याकेट लगाउनुपर्छ। हिमालका आधार शिविरसम्म पुग्ने हो भने अझै न्याना लुगा चाहिन्छ। यसमा माइन्स १० डिग्री सेल्सियससम्म लगाउन मिल्ने फेदर ज्याकेटहरू लगाउनुपर्छ।

ट्रेकिङ जाँदा सकेसम्म उज्यालो रङको लुगा लगाउनुपर्छ। यसले जोखिममा परिहाले पनि दुर्घटनाबाट बचाउन सक्छ।

उचाइ र मौसम हेरेर हावापानी नछिर्ने पञ्जा लगाउनुपर्छ। यससँगै घाँटीमा हावा नछिर्ने स्कार्फ बोक्नुपर्छ। टोपी अनिवार्य लगाउनुपर्छ। ट्रेकिङमा आँखाको सुरक्षाका लागि चस्मा बोक्नुपर्छ।

त्यस्तै ट्रेकिङका लागि अर्को महत्वपूर्ण सामान ट्रेकिङ स्टिक (लौरो) हो। यसले हिँड्न सहयोग गर्छ। यो लौरो बाटो अनुसार लामो र छोटो बनाउन सकिन्छ। सामान्यतया उकालो बाटोमा लौरो लामो बनाउनु पर्दैन। ओरालो भने लामो बनाउनुपर्छ।

बजारमा चार सय रूपैयाँदेखि नै ट्रेकिङ स्टिक पाइन्छ। तर एक हजार रूपैयाँदेखि माथिका स्टिक राम्रो र अर्को पटकको ट्रेकिङका लागि पनि प्रयोग गर्न सकिन्छ।

ट्रेकिङमा अर्को ध्यान दिनपुर्ने सामान जुत्ता हो। पहाड, जंगल, खोला लगायत ठाउँमा हिँड्नुपर्ने हुँदा जुत्ता किन्दा सोलमा ग्रिप भएको लिनुपर्छ। यो नचिप्लिने खालको हुन्छ। अहिले कम बजेटमा नेपाली ब्रान्डहरूले पनि ट्रेकिङका लागि जुत्ता उत्पादन गरिरहेका छन्। यी जुत्ताको मूल्य दुई-तीन हजार रूपैयाँदेखि सुरू हुन्छ।

त्यस्तै कच्ची बाटो र हिउँमा हिँड्नका लागि जुत्ताको सोलमा लगाउने ‘क्र्याम्पन्स’ पनि लैजानुपर्छ। यो सानो फलामे साङ्लो जस्तो हुन्छ जसमा नचिप्लिनका लागि चुचा किला जस्ता बनेका हुन्छन्। त्यस्तै हिँड्दा सजिलो र मिल्दो ट्रेकिङ मोजा नै लगाउनुपर्छ।

ट्रेकिङमा भन्नासाथ खानेकुरा वा होटल नपाइन पनि सक्छ। यस्तो बेलाका लागि ड्राइफ्रुट बोक्नुपर्छ। बजारमा विभिन्न प्रकारका खानेकुरा राखिएको ट्रेकिङ-बार पनि पाइन्छ। यसमा बदाम, चकलेट, काजु लगायत आडिला खानेकुरा हालिएको हुन्छ।

सामान प्याकिङका लागि बजारमा विभिन्न थरीका झोला पाइन्छन्। सामान्यतया १० दिनभन्दा माथिको गन्तव्यमा जाने हो भने ६० लिटरको झोला बोक्नुपर्छ। त्यस्तै ७ दिनका लागि ५० लिटर, पाँच दिनका लागि ४५ र ४० लिटरको झोला उपयुक्त हुन्छ।

लामो दुरीको ट्रेकिङ गर्दा स्वास्थ्यमा समस्याका बारेमा जानकारी लिनुपर्छ। हिमाली क्षेत्रमा जाने हो भने लेक लाग्न सक्छ। यसका लागि आवश्यक औषधि लैजानुपर्छ। दुई हजार पाँच सय मिटर माथि पुगेपछि दैनिक बढीमा चार सय मिटर मात्र चढ्नुपर्छ। एकैपटक धेरै हिँडेमा थाक्ने मात्र होइन, स्वास्थ्यमा समेत समस्या आउन सक्छ।

ट्रेकिङका लागि यी सबै सामान मिलाएर किन्दा कम्तीमा १५ हजार रूपैयाँ लाग्न सक्छ।

हिँडेरै गन्तव्यमा पुग्ने हुँदा समय तालिका बनाउँदा उपयुक्त हुन्छ। सामान्यतया बिहान ७ बजेदेखि हिँड्नुपर्छ। दिउँसो ३ बजेसम्म गन्तव्यसम्म पुग्नुपर्छ। यसबीचमा दैनिक कम्तीमा चार लिटरसम्म पानी पिउनुपर्छ। समयमै पानी नपिउँदा ट्रेकिङमा धेरैको स्वास्थ्यमा समस्या देखिन्छ। त्यसकारण पानी र सुप नियमित पिउनुपर्छ। यसले शरीरलाई फाइदा पुर्‍याउनुका साथै हिँडाइमा ऊर्जा थप्छ।

ट्रेकिङ जाँदा छालाको पनि धेरै ख्याल राख्नुपर्छ। जति उचाइमा गयो, उति सूर्यका विकिरणहरू कडा हुने हुने भएकाले अनुहार डढ्ने, हावा लाग्ने हुन्छ। त्यसैले सनस्क्रिन क्रिम छुटाउनु हुँदैन। आफूलाई सुहाउँदो जेल, लोसन, क्रिम लगायत अनिवार्य बोक्नुपर्छ।

कम्तीमा एसपिएफ ५० वा योभन्दा माथिको सनस्क्रिन चाहिन्छ। पसिनाले पखालिने र पुछिने हुँदा सकेसम्म हरेक दुई/तीन घन्टामा लगाइरहनुपर्छ। अनुहार फुट्ने समस्याबाट जोगिन मोस्चराइजर पनि प्रयोग गर्नुपर्छ। फेसवासले मुख धोएर, मोस्चराइजर लगाएर सनस्क्रिन लगाउँदा अनुहार सुरक्षित हुन्छ।

ट्रेकिङ जाँदा गाइड र पोर्टर पनि लैजान मिल्छ। गाइड लैजाँदा गन्तव्यको सुरूदेखि अन्तिमसम्म सहज हुन्छ।

२९ आश्विन २०८०, सोमबार ०८:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस