|  

५० औं लाख गैरआवासीय नेपालीलाई नागरिकता दिने ब्यबस्था मिलाएका छौँ : प्रधानमन्त्री प्रचण्ड

३० आश्विन २०८०, मंगलवार १२:५४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पचासौं लाख गैरआवासीय नेपालीहरूले नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको बताएका छन् । सरकारी निवास बालुवाटारमा आज गैरआवासीय नेपालीलाई नागरिकता वितरणको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले नागरिकता दिलाउनु निकै ठूलो उपलब्धी भएको बताएका हुन् ।

उनले नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न आफूले ठूलो संघर्ष र पहल गरेको जानकारी गराए । ‘नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो संघर्ष र पहल गरेको छु।

त्यसकै बलमा तपाईहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ।’ उनले भने,‘संविधानमा व्यवस्था भएपश्चात् पनि कानुनी व्यवस्था गर्न हामीले फेरि अर्को संघर्ष गर्नुपर्‍यो। निकै ठूलो संघर्ष र मेहेनतपछि हामीले सफलता हासिल गरेका छौं। पचासौं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठूलो उपलब्धी हो ।’

आफ्नोनेतृत्वमा नयाँ सरकार बन्नासाथ सरकारले राष्ट्रपतिलाई नागरिकता विद्येयक सदर गर्न आग्रह गरेको बताउँदै उनले राष्ट्रपतिबाट सदर भएपछि उक्त विधेयक कानुनमा परिणत भएको बताए। उनले भने,‘मैले भर्खरै संघका अध्यक्ष कुल आचार्य र बद्री केसीजीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेको छु। यस अवसरमा कुलजी लगायत तपाईं सबै साथीहरूमा हार्दिक बधाइ ज्ञापन गर्दछु। मलाई विश्वास छ– विदेशमा रहनुभएका लाखौं गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको संघर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ। सबै साथीहरू र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ।’

३० आश्विन २०८०, मंगलवार १२:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस