|  

युएइविरुद्ध नेपाल ७ विकेटले विजयी, कप्तान पौडेलको अर्धशतक

१ कार्तिक २०८०, बुधबार १७:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । आजदेखि सुरु भएको त्रिकोणात्मक टि–२० सिरिजको पहिलो खेलमा नेपालले युएइलाई ७ विकेटले पराजित गरेको छ ।
युएइले दिएको १४१ रनको लक्ष्य पच्याएको नेपालले ७ बल बाँकी छँदै ३ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । उनले ४० बलमा ५ चौकाको मद्दतमा नटआउट ५१ रन बनाए ।

दिपेन्द्र सिंह ऐरी ३४ रनमा नटआउट रहे । उनले ३ चौका र १ छक्का हाने । आसिफ शेखले २३, कुशल भुर्तेलले १४ र कुशल मल्लले ११ रन बनाए ।

युएइका लागि निलांश केशवानी र अली नासेरले १–१ विकेट लिए । मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको हो ।

युएइका लागि बसिल हमीदले अर्धशतक बनाए । उनले ३८ बलमा १ चौका र ४ छक्काको मद्दतमा ५१ रन बनाए । यसबाहेक अली नासेरले ३२, कप्तान मुहम्मद वसीमले १७ र आसिफ खानले १५ रन बनाए । नेपालका लागि करण केसीले ३, गुलशन झाले २, सोमपाल कामी र अविनाश बोहराले १–१ विकेट लिए

१ कार्तिक २०८०, बुधबार १७:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस