|  

इजरायलमा मारिएका सबै नेपालीको शव पहिचान, पाँच जनाको शव नेपाल आइपुग्यो !

१४ कार्तिक २०८०, मंगलवार ०८:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ ।

मधुवन १ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही ६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ ।

दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूमध्ये मधुवन १ सुनसरीका स्वर्णकार र सपही ६ धनुषाका साहको शव पहिचान हुन बाँकी थियो । दुवैको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ ।

हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल आइपुगेको छ । हालसम्म बझाङ जयपृथ्वी ६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन ४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम ५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए । उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही ६ का आनन्द साह, सुनसरी मधुवन १ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली(३ का राजन फुलारा, डोटी लामीखाल ८ का पदम थापा र सल्यान शारदा ३ का प्रवेश भण्डारी छन् ।

१४ कार्तिक २०८०, मंगलवार ०८:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस