|  

खुद्रा व्यापारीलाई साल्ट ट्रेडिङले १० बोरासम्म चिनी दिने

२० कार्तिक २०८०, सोमबार १६:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । तिहार तथा छठ पर्वका लागि सरकारले चिनीको आयात सहज बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिइने भएको छ ।

बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चिनी उत्पादक उद्योगसँग समन्वय गर्दै तीन हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङमार्फत किन्ने प्रबन्ध गरेको थियो । यसका साथै अवैधरूपमा भित्रिएको चिनीको खोजी गर्न काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालन गरिएका थिए ।

कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले सङ्घीय राजधानी काठमाण्डौका विभिन्न ठाउँमा अवैधरूपमा पठाइएका सयौँ बोरा चिनी बरामद गरेको थियो ।

उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङले आफ्ना उटलेट खुद्रा बिक्रेता सङ्घअन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरे पनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै खुद्रा व्यापारीलेसमेत १० बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने भएका छन् । यो चिनी प्रतिकिलो एक सय १५ रुपैयाँमा उपभोक्ताले किन्न पाउनेछन् । व्यापारीले तोकिएका निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुनेछ । खुद्रा व्यापारी तथा व्यवसायीले आज सोमवारदेखि साल्ट ट्रेडिङको कालीमाटी शाखा र भोलि मङ्गलवारदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन् ।

चिनीको सङ्कट अन्त्य गर्दै सहजरूपमा चिनी उपलब्ध गराउन दशैँलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,वाणिज्य विभाग,खाद्य तथा गुणस्तर विभाग,आन्तरिक राजस्व विभाग,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च पदाधिकारीको बैठकले विभिन्न उपायमाथि छलफल गरेको थियो ।

 

२० कार्तिक २०८०, सोमबार १६:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस