|  

जाजरकोट भूकम्प: १५७ मृतकमध्ये ७८ जना बालबालिका

२० कार्तिक २०८०, सोमबार १६:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि ज्यान गुमाएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिकाको रहेको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट ज्यान गुमाएका एक सय ५७ मध्ये ७८ जना बालबालिका रहेका छन् ।
जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाले भूकम्पमा परि ज्यान गुमाएका जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जिल्लामा गरी ज्यान गुमाउने झण्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा ज्यान गुमाएका एक सय पाँच मध्ये बालक २७ र बालिका २३ जना रहेका रोकाले बताउनुभयो ।
रुकुम पश्चिममा भूकम्पमा परि ५२ जनाले ज्यान गुमाएकामा २८ जना बालबालिका रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,रुकुम पश्चिममा भूकम्पमा ज्यान गुमाएकामध्ये प्रायजसो बालबालिका छन् । दुईजना १० महिनाका बालबालिकालेसमेत ज्यान गुमाएका छन् ।ु
भूकम्पमा परि ज्यान गुमाउनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ । जाजरकोटमा ज्यान गुमाउनेमा ३३ जना महिला र १८ जना पुरुष रहेका रोकाले जानकारी दिनुभयो । रुकुम पश्चिममा १६ जना महिला र आठ जना पुरुषको ज्यान गएको छ ।
 

२० कार्तिक २०८०, सोमबार १६:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस