|  

तिहार नजिकिएसँगै बजारमा चहलपहल,किसानलाई फूल टिप्ने चटारो

२४ कार्तिक २०८०, शुक्रबार १२:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । तिहार नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । तिहार केन्द्रित सामग्रीको कारोबार बढेको छ ।

काठमाण्डौ उपत्यकाका असन,इन्द्रचोक,भोटाहिटी,मङ्गलबजारलगायत देशका प्रमुख व्यापारिक क्षेत्रमा झिलिमिली बत्ती,दियो,मखमली तथा सयपत्री फूल,सप्तरङ्गी टीका,तामा,पित्तलका भाँडा,भाइमसला लगायतका सामग्री किन्नेको घुइँचो लाग्न थालेको छ ।

यसपालि भाइ मसलाको भाउ १० प्रतिशतसम्मले बढेको नेपाल खुद्रा व्यापार सङ्घका कार्यकारी अध्यक्ष नरेश बाबु शाहीले बताउनुभयो । तिहारमा चाहिने सप्तरङ्गी टीका,पाला,मैनबत्ती,फूलमाला,बिजुली बत्तीलगायतका अरु सामानको भाउ पनि बढेको उपभोक्ताले गुनासो गरेका छन् ।

यस्तै, तिहार नजिकिएसँगै किसानलाई फूल टिप्ने चटारो छ । तिहारका लागि मखमली, सयपत्री र गोदावरी फूल टिप्ने तथा माला उनेर बजारमा पठाउन भ्याइनभ्याइ छ । भाइटीकामा मखमली फूलको माला अनिवार्य मानिन्छ भने लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी चाहिन्छ ।

लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन या पसल, कार्यालय,व्यावसायिकस्थल सिँगार्न सयपत्री फूलको माग उच्च हुने गर्छ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले भक्तपुर,चितवन,बर्दियालगायत फूल खेती हुने जिल्लाका किसानले फूल टिप्न र माला बनाउने कामलाई तीव्र पारेका छन् । तिहारलाई फूलको पर्व पनि मानिन्छ ।

तिहारमा लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका ठाउँमा सयपत्री फूलको मालाले सजाएर दियो बाली झिलिमिली पार्ने परम्परा रहेको छ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले स्थानीय कामदार राखेर फूल टिप्ने गरेको बर्दिया गुलरिया नगरपालिका–३ खैरीमा व्यावसायिकरूपमा पुष्पखेती गर्दै आउनुभएकी पार्वती थारूले बताउनुभयो ।

 

२४ कार्तिक २०८०, शुक्रबार १२:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस