|  

चितवनको सयपत्री र मखमली हङकङ निर्यात

२४ कार्तिक २०८०, शुक्रबार १३:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका–२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय वटा माला र दुई क्विन्टल खुद्रा फूल बिहीवार हङकङ पठाइएको हो ।

तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिनुभयो । आठ सय वटा सयपत्री र पाँच सय वटा मखमली फूलका माला पठाएका छौँ । मालाबाहेक सयपत्री फूलको थुङ्गासमेत दुई क्विन्टल निर्यात गरेका छौँ’, बास्तोलाले भन्नुभयो, ‘चितवनबाट व्यावसायिक रूपमा फूल विदेश निर्यात भएको पहिलो पटक हो ।’ उहाँका अनुसार तीन लाख रुपैयाँ बराबरको माला निर्यात भएको छ ।

उहाँले अन्य देशबाट पनि सयपत्री फूलको माग आएको बताउनुभयो । ‘अहिले हङकङ निर्यात गरेका छौँ’, उहाँले भन्नुभयो, ‘बिस्तारै अन्य देशमा पनि सयपत्री फूल र माला निर्यात गर्नेछौँ ।’

विगतका वर्षमा ४१ जिल्लामा सयपत्री फूल बिक्री गर्दै आएकोमा अहिले विदेशमा पठाएको किसान अमित बास्तोलाले बताउनुभयो । ‘हामीले गएको वर्षदेखि १२ महिना नै फूलखेती गरेका छौँ । माघमा उत्पादन हुने गरी १० कट्ठामा लगाएका छौँ’, उहाँले भन्नुभयो, ‘चितवनमा फूलखेतीको सम्भावना राम्रो छ ।’

तीन भाइले तिहार लक्षित सयपत्री फूल तीन बिघामा खेती गर्नुभएको छ । फूलखेतीबाट यस वर्ष १२ हजार माला र आठ क्विन्टल फूलको थुङ्गा उत्पादन हुने उहाँहरूको अनुमान छ । यसबाट १५ लाख रुपैयाँ आम्दानी हुने अमितले बताउनुभयो । बजार भयो भने अन्य बालीभन्दा फूलखेतीबाट राम्रो आम्दानी हुने उहाँको भनाइ छ । ‘अन्य खेतीमा उत्पादन र लागत एउटै हुन आउँछ’, उहाँले भन्नुभयो, ‘फूलखेतीमा ५० प्रतिशत नाफा हुन्छ ।’ उहाँहरूले फूलखेती शुरु गरेको चार वर्ष भयो । कोरोना माहामारीपछि फूलखेती शुरु गर्नुभएका तीन दाजुभाइले जग्गा भाडामा लिनुभएको छ ।

भारतको कोलकातादेखि एक लाख रुपैयाँ बराबरको बिउ ल्याएर तीन बिघामा खेती शुरु गर्नुभएका उहाँहरूले सयपत्रीका दुई जात टेनिसबल र कलकतीया फूल हङकङ निर्यात गर्नुभएको हो । कात्तिक २४ गते राति काठमाण्डौबाट जहाजमार्फत हङकङ लगिने सप्लायर्स कमल सुवेदीले जानकारी दिनुभयो । हङकङमा बस्ने नेपाली समुदायबाट सयपत्री फूलको माग आएकाले लैजान लागिएको उहाँले बताउनुभयो ।

२४ कार्तिक २०८०, शुक्रबार १३:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस