यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
तिहारमा पनि सीमापारि भारतको रूपैडिहा बजारबाट नै बाँकेका अधिकाशं उपभोक्ताले चाडपर्वको चाहिने सामान खरिद गरेका छन् ।
विगतका चाडपर्वजस्तै यस पटक पनि नेपालगन्ज बजारमा खासै चहलपहल देखिएन । तर सामान खरिदका लागि सीमापारि जानेहरुको भिडले गर्दा नाकामा घण्टौ लाम लागेको दृश्य भने दैनिक जसो देखियो ।
नेपाली उपभोक्तालाई सीमापारिबाट खरिद गर्न रोक्नका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले जमुनाहा नाकामा हेल्प डेस्कनै स्थापना गरेर उनिहरुलाई भन्सार राजस्व तिर्न लगाउन सुरु गरेपनि त्यसले उपभोक्तलाई सीमापारि जानबाट रोक्न सकेन ।
भारतबाट सय रुपियाँभन्दा बढीको सामान ल्याउनेहरुसँग नेपालगन्ज भन्सार कार्यालयले राजस्व असुलीमा कडाइ गर्दा खासै प्रभाव परेन । सीमापारि जाने नेपाली उपभोक्ताले भन्सार राजस्व तिरेर नै सामान ल्याउने गरेको पाइयो ।
तिहारको समयमा सीमापारिबाट दैनिक ६ करोड ५० लाखभन्दा बढीको व्यापार रुपैडिहामा भएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी ओलीले चाडपर्वको बेला अत्यधिक बढ्ने गरेको सीमापारिको व्यापार कम गर्ने धेरै प्रयास गरिए पनि कम गर्न नसकिएको बताउनुभयो ।
उहाँले नाकासँग जोडिएका नेपाली सहरका व्यवसायीका लागि सरकारले भन्सार र कर कम लिने व्यवस्था गर्नु पर्ने माग गर्दै त्यसो गर्न सकिएमात्रै सीमापारिका व्यवसायीसँग प्रतिस्पर्धा गर्न सकिने बताउनुभयो ।
उता,नेपाली उपभोक्तालाई सीमापारि जानबाट रोक्नका लागि नेपालमा उचित मूल्यमा सामान विक्रि गर्नु पर्ने अधिकाशं उपभोक्ताको सुझाव छ ।
नाकामा कडाइ गर्दैमा मात्रै सीमापारिबाट हुने खरिदारी नरोकिने जनाउँदै नेपालगन्ज २० का रमेश थापाले यहाँ र त्यहाँको मूल्यमा धेरै फरक नपर्ने गरि व्यवसाय गरेमात्रै नेपालगन्जको व्यवसाय बढ्ने बताउनुभयो ।
उहाँले नेपालगन्जका व्यवसायीले मूल्य नियन्त्रण र एकरुपता नगरेसम्म यहाँको बजार सुनसाननै रहने बताउनुभयो ।