इजराइलको आक्रमणबाट अक्टोबर ७ यता १२ हजार प्यालेस्टिनियनको मृत्यु भएको छ।
हमास इजराइल युद्धको साढे १ महिनाको अवधिमै प्यालेस्टाइनमा १२ हजार नागरिकहरूको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेको छ।
मारिनेमध्ये ५ हजारभन्दा बढी बालबालिकामात्रै रहेको जनाएको छ। महिला र वृद्धवृद्धा पनि ठूलो संख्यामा मारिएका छन्।
इजराइलले गाजाबाट हमास सिध्याउने लक्ष्य लिएर हवाई हमलासँगै जमिन र समूद्रबाट पनि गाजामा आक्रमण बढाएको छ।
इजराइलले गाजामा विद्युत्, इन्धन, टेलिफोन, इन्टरनेट लगायतका सेवा बन्द गरी गजाका मानिसहरूलाई बाह्य सम्पर्क गर्नबाट रोकेको छ। त्यसकारण मृतकको संख्या अझै धेरै हुनसक्ने बताइएको छ।
धेरै नागरिकहरूले ज्यान गुमाएपछि अन्तरार्ष्ट्रिय शक्तिहरुले इजराइलमाथि गाजामाथिको आक्रमण रोक्न दवाब दिएका छन्। गाजामा हमासकै कारण प्यालेस्टिनियनहरूले ज्यान गुमाएको तर्क इजराइलको छ।
उसले जहाँ मानिसहरूको आवादी बढी हुन्छ त्यही क्षेत्रमा हमासले आफ्नो कमान्ड सेन्टर स्थापना गरेको आरोप लगाउँदै आएको छ।
पछिल्लो समय अस्पताल र त्यसनजिकका संरचनामुनि सुरूङ बनाएर त्यहीँबाट हमासले सैन्य गतिविधि गरिरहेको दाबी गर्दै इजराइली सेना गाजाका अस्पतालहरूभित्रै प्रवेश गरिरहेका छन्।
विद्युत् र इन्धन नहुँदा गाजाका अधिकांश अस्पताल बन्द भएका छन् भने त्यहाँ रहेका बिरामीहरूको उपचार हुन कठिन भएको छ। गाजाको सबैभन्दा ठूलो अस्पताल अल सिफा अस्पतालमा पनि इन्धन् विद्युत् नहुँदा त्यहाँ उपचाररत नवजात शिशुहरूको मृत्यु भएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा सार्वजनिक भएको थियो।
चर्को दबावपछि इजराइलले नागरिकहरूलाई भाग्नका लागि दैनिक चार घन्टाको समय दिन सहमत भएको थियो। तर, सहमति तोड्दै इजराइली सैनिकले शनिबार गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको रोयटर्सले उल्लेख गरेको छ।
नागरिकहरूलाई भाग्नका लागि दिइएको समयमा इजराइलले हवाई आक्रमण गरेको र त्यसबाट कम्तिमा ३२ जना प्यालेस्टिनियनहरुको मृत्यु भएको रोयटर्सले जनाएको छ।
इजराइलले हमासले बन्धक बनाएका २४० जनालाई विनासर्त छाड्नुपर्ने बताएको छ। त्यसो नभएसम्म गाजामा आक्रमण भइरहने प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले बताएका थिए।
अक्टोबर ७ मा हमासले इजराइलमा आक्रमण गर्दा त्यहाँ १ हजार २ सय मानिसहरू मारिएका थिए भने २४० जनालाई बन्धक बनाइ हमासले गाजा पुर्याएको थियो।