यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गत १७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग पाएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ मंसिरसम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको हो ।
भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको थियो । सो भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग रकम घोषणा गर्न होडबाजी नै चलेको थियो ।
तर, सरकारले एकद्वारका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
एक करोडभन्दा माथि सहायता गर्नेमा मिनबहादुर गुरुङ १ करोड ११ लाख ११ हजार, बुद्ध एयर १ करोड, राष्ट्रिय वाणिज्य बैंक १ करोड, ग्लोबल आईएमई बैंक १ करोड, सूर्य नेपाल प्रालि १ करोड, गोर्खा ब्रुअरी १ करोड, क्यान सेन्ट्रल पेमेन्ट १ करोड रहेको छ ।
कृषि विकास बैंकसहित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ५० लाख रुपैयाँ जम्मा गरेका छन् ।