|  

‘तीनकुनेमा दुर्गा प्रसाईको कार्यक्रम गर्न अनुमति छैन, जब्बरजस्ती गरिए कारवाही हुन्छ’ : प्रशासन

८ मंसिर २०८०, शुक्रबार ०९:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाई नेतृत्वको समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नभएको जनाएको छ । कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रशासनले तीनकुनेमा कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको स्पष्ट पारेको हो ।

बिहीबार पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेको प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले शुक्रबारदेखि तीनकुनेमा विरोधका कार्यक्रम गर्न लागेको जनाएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता रवीन्द्र प्रसाद आचार्यले बिहीवार विज्ञप्ति निकालेर गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान नगरिएको जानकारी गराएका हुन् ।
नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको उपभोग र सोको सम्मान गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

८ मंसिर २०८०, शुक्रबार ०९:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस