|  

खेतिमा संलग्न मधेश प्रदेशको ४३ प्रतिशत परिवारलाई खाना अपुग

१० मंसिर २०८०, आईतवार ११:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । मधेश प्रदेशका ८ जिल्लामा कृषिमा संलग्नमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । मधेशमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको राष्ट्रिय कृषि गणना–२०७८ ले देखाएको हो ।

नेपालको कूल जनसङ्ख्यामध्ये ६१ लाख १४ हजार छ सय जना मधेस प्रदेशमा बसोबास गर्ने गरेका छन्य । जसमध्ये सात लाख ३८ हजार तीन सय ४० अर्थात् ६३ दशमलव ८ प्रतिशत परिवार किसान छन् । यो संख्यालाई शत प्रतिशत मान्दा ५७ प्रतिशतलाई मात्रै आफ्नै कृषि उत्पादनले वर्षैभरि खान पुग्ने गरेको कृषि गणना २०७८ मा उल्लेख गरिएको छ ।

तथ्याङ्कले अधिकांश किसान परिवारले जीवन निर्वाहका लागि मात्रै कृषि कर्म गर्ने गरेको देखाएको छ । जसअनुसार कृषि उत्पादनको हिस्सामध्ये १ दशमलव ८ प्रतिशत मात्रै बिक्री गर्ने गरिएको र त्यसबाहेक ६२ दशमलव २ प्रतिशत सबै घरायसी, ३० प्रतिशत मुख्य घरायसी र केही बिक्री तथा ५ दशमलव ६ प्रतिशत मुख्य बिक्री र केही घरायसी प्रयोग गर्ने गरिएको छ । मधेश प्रदेशमा अहिले पनि आम्दानीको मुख्यस्रोत कृषि हो भनी बताउनेको प्रतिशत ६४ दशमलव ३ रहेको छ । किसान परिवारअन्तर्गत मधेशमा जम्मा कित्ता सङ्ख्या २१ लाख ७४ हजार सात सय ९८ र प्रतिकृषक परिवार कित्ता सङ्ख्या २ दशमलव ९ देखाएको छ ।
मधेश प्रदेशमा सबैभन्दा बढी तीन लाख ८४ हजार पाँच सय ५३ हेक्टरमा धानबाली र दुई लाख ४७ हजार छ सय नौ हेक्टरमा गहुँ र ३३ हजार सात सय १९ हेक्टरमा मकै रहेको छ । यहाँ एकबाली सकिनासाथ अर्को बाली लगाउने अर्थात् बाली सघनता १ दशमलव ८७, स्थायी बालीका रुपमा रहेका आँप, केरा र कागती क्रमशः १५ हजार चार सय ३३ हे, एक हजार एक सय ८३ र एक सय ३७ हेक्टर छ ।

१० मंसिर २०८०, आईतवार ११:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस