|  

पर्यटक आगमनको पछिल्लो आँकडाले सरकारको लक्ष्य पूरा हुने सङ्केत

१६ मंसिर २०८०, शनिबार ११:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । ११ महिनामा ९ लाखभन्दा बढी पर्यटक भित्रिएपछि सरकारको सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने सङ्केत देखिएको छ ।

जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार पर्यटक भित्रिएका छन् । नोभेम्बरमा मात्रै १ लाख ८ हजार ६३० पर्यटक भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । अघिल्लो वर्ष अर्थात् सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६ सय ५३ जना पर्यटक नेपाल आएका थिए ।

यस्तै, कोरोना महामारी शुरु हुनुअघिको वर्ष सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार तीन सय २ जना पर्यटक नेपाल आएका थिए । यसवर्ष नोभेम्बरमा सबैभन्दा बढी पर्यटक भित्रिने १० देशमा भारतबाट २४ हजार ४४३, अमेरिकाबाट ११ हजार ४६१, चीनबाट ७ हजार ६०१, बेलायतबाट ६ हजार १३८, अस्ट्रेलियाबाट ५ हजार ६०, थाइल्यान्डबाट ३ हजार ९६२, बङ्गलादेशबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलङ्काबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ रहेका छन् ।

नेपाल भित्रिने पर्यटकमा सार्क राष्ट्रको हिस्सा ३० दशमलव ३ प्रतिशत, युरोपको २० दशमलव ९ प्रतिशत, सार्कबाहेक एसियाका देशको २० दशमलव ७ प्रतिशत, अमेरिकाको १२ प्रतिशत रहेको छ । कोभिड माहामारीअघि नेपालमा वार्षिक १२ लाख पर्यटक भित्रिने गरेका थिए ।

 

१६ मंसिर २०८०, शनिबार ११:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस