|  

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान

१८ मंसिर २०८०, सोमबार १२:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गएराति घाना प्रस्थान गर्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही मङ्सिर १९ र २० गते हुने छ । सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्नुहुनेछ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट संयुक्त राष्ट्र सङ्घ शान्ति स्थापनालाई सहयोग पुर्‍याउन सक्ने विभिन्न नौ क्षेत्रका प्रतिबद्धता प्रस्तुत गरिनुका साथै शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे प्रस्तुति र छलफल हुने जनाइएको छ ।

सम्मेलनका अवसरमा उपप्रधानमन्त्री खड्कासँग संयुक्त राष्ट्र सङ्घका उपमहासचिव अतुल खारे, जिन पियरर ल्याक्क्रोइक्सले शिष्टाचार भेट गर्नुहुनेछ भने अन्य राष्ट्रका रक्षा तथा सुरक्षा मन्त्रीहरुसँग भेटघाट तथा द्विपक्षीय सहयोगका विषयमा छलफल हुने कार्यक्रम छ ।

नेपालका उपप्रधानमन्त्री स्तरको नेतृत्वमा हुने सहभागितालाई संयुक्त राष्ट्र सङ्घले उच्च महत्व दिँदै सदस्य राष्ट्रका तर्फबाट वक्ताका रुपमा सहभागी गराउने गरी कार्यक्रम तय भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

 

१८ मंसिर २०८०, सोमबार १२:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस