|  

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण आजको प्रमुख चुनौती रहेको राष्ट्रपति पौडेलको भनाई

१९ मंसिर २०८०, मंगलवार १३:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरी प्रभावित क्षेत्रका मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौती रहेको बताउनुभएको छ ।

मंगलवार ललितपुरमा इसिमोड स्थापनाको ४० औँ वार्षिकोत्सव समारोहमा नव निर्मित भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा हिउँ पग्लिने, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले तहसनहस बनाएको बताउनु भयो । उहाँले जलवायु परिवर्तनजन्य घटनाका कारण देशको अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी पुगेको जिकिर गर्नुभयो ।

उहाँले नेपाल जस्ता मुलुकले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शुन्य सरह योगदान गरेपनि जलवायु परिवर्तनको प्रभाव अत्याधिक रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाल लगायत जलवायु परिवर्तनको प्रभावको मारमापरेका मुलुकहरु रहेको बताउनु भयो । उहाँले अहिलेको विश्व मानव सिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदुषणका कारणले संकटमा रहेको पनि बताउनु भयो ।

१९ मंसिर २०८०, मंगलवार १३:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस